मकवानपुरमा जनतासँग माओवादी अभियान जारी

तु खबर संवाददाता
२०८० आश्विन १३, शनिबार १५:११

मकवानपुर । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत मकवानपुर जिल्लाका १० स्थानीय तहका विभिन्न वडामा कार्यक्रम भइरहेका छन् । माओवादी केन्द्र मकवानपुरले पार्टीको केन्द्रीय समिति, बागमती प्रदेश समिति, जिल्ला समन्वय समिति र पालिका पदाधिकारीहरुलाई जिल्लाका एक सय दुई वडामा कार्यविभाजन गरी कार्यक्रमहरु गरिरहेको छ ।

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर ३ को सिमलटार, पिपलटार, पाङदमारमा शुक्रबार टोल भेला सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले र नेपाली काँग्रेसबाट ११ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई माओवादी केन्द्रमा स्वागत पनि गरिएको छ । साथै, पार्टीसँगै किसान, महिला, युथ कम्युनिष्ट लिग वाईसीएलका टोल कमिटी समेत गठन गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विष्णु सापकोटा ‘जुगल’को प्रमुख आतिथ्य तारहेको थियो ।

त्यस्तै, बागमती वडा नम्बर ९ साविक बेतिनी गाविसमा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तरगत छलफल कार्यक्रम सम्पन्न भएको छ । अभियान अन्तरगत भीमफेदी गाउँपालिका वडा नम्बर ४ कमिटीको अन्तरक्रियात्मक बैठकसमेत सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य ठाकुर ढकालको प्रमुख आतिथ्य तथा पार्टीका वडा अध्यक्ष नवराज मोक्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा पार्टीको सदस्यता नविकरण, नयाँ सदस्यता वितरण गर्ने र टोल कमिटी गठन गरिएको थियो । त्यस्तै मकवानपुरगढी ५ मा अभियान अन्तरगत वडाबासी खेलकुदसँग आबद्ध युवाहरुसँग अन्तरक्रिया तथा अखिल नेपाल खेलकुद महासंघ मकवानपुरगढीको प्रथम भेला सम्पन्न भएको छ ।