राष्ट्र बैंकले बढाएको सुनको कोटा कार्यान्वयनमा आयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै बढाएको सुनको कोटा कार्यान्वयनमा आएको छ ।
ढुकुटीमा विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले कोटा बढाएर दैनिक २० किलो सुन आयात कार्यान्वयनमा ल्याएको हो । यसअघिको सीमाअनुसार वाणिज्य बैंकबाट दैनिक १० केजी सुन आयात हुँदै आएको थियो ।
अब चाडपर्व नजिकिँदै गर्दा आयातको दैनिक परिमाण दोब्बरले बढाइएको हो । एकीकृत परिपत्रअन्तर्गतको सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यससँगै वाणिज्य बैंकले मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी हुने भएमा दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आवश्यकता अनुरूपको एकमुष्ट रूपमा समेत सुन आयात गर्न सक्नेछन् ।
तर, यस्तो एकमुष्ट रूपमा आयात गर्दा आगामी दिनका लागि अग्रिम रूपमा आयात गर्न र व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने नपाइने जनाइएको छ ।