डेंगू संक्रमित संख्या बढ्यो, एकैदिन ४०० भन्दा बढीमा पुष्टि
काठमाडौं । नेपालमा डेंगू संक्रमितको संख्या दिन–प्रतिदिन बढिरहेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले आज एकैदिन ४०५ जनामा डेंगू संक्रमण पुष्टि भएको जनाएको छ ।
महाशाखाले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको हो ।
गएको साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ ।
सङ्क्रमण देखिएकोमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा रहेका छन् । त्यहाँ १८ हजार ६८२ जना डेंगु सङ्क्रमित रहेका छन् ।
यसैगरी, बागमती प्रदेशमा ३ हजार ३२४ जना, गण्डकी प्रदेशमा ७ हजार १० जना, सुदूरपञ्चिम प्रदेशमा ७१५, मधेस प्रदेशमा ५२२, लुम्बिनी प्रदेशमा ४०१७ र कर्णाली प्रदेशमा ४९ जनामा सङ्क्रमित पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
