दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
जनकपुरधाम । जनकपुर जलेश्वर सडकखण्डमा बिहीबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) स्कुलको बा २ क १५३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका ९ बस्ने ३५ वर्षीय सन्तोष यादव रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका यादवको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुर्घटनापछि बसका चालक फरार छन् । यादवको मृत्युपछि स्थानीय बासिन्दाले फरार बस चालकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाउन र मृतक मोटरसाइकल चालकको परिवारलाई राहत दिन माग गर्दै प्रदर्शन गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
