मकवानपुरमा थप २४ जनामा डेंगू संक्रमण पुष्टि, कूल संख्या झण्डै २०० पुग्यो

तु खबर संवाददाता
२०८० भाद्र ४, सोमबार १७:२३
file-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २४ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यससँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या झण्डै २०० को हारहारीमा पुगेको छ । जिल्लामा गत साउन १ गतेदेखि आजसम्म डेंगू संक्रमितको कूल संख्या १९७ पुगेको छ ।

जसमा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ १४५ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी गाउँपालिकामा २ जना, भीमफेदी गाउँपालिकामा ५ जना, बकैया गाउँपालिकामा १ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।