माया प्रेमदेखि राजनीतिक असङ्गतिहरु गजलमार्फत् प्रस्तुत

तु खबर संवाददाता
२०८० भाद्र २,शनिबार १६:४६

मकवानपुर । गजल मञ्च मकवानपुरको २०५ औं गजल यात्रामा करिब २ दर्जन गजलकारहरुले गजल वाचन गरेका छन् । माया प्रेमदेखि समाजका विविध विकृति विसंगति र राजनीतिक असङ्गतिहरु गजलकाहरुले गजलमार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रम गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षता एवम् साहित्यकार/महाकाव्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार ओम रिजाल, मञ्चका पूर्व अध्यक्ष दीपक गौतम, वातावरणविद् श्रवण शर्मा, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेलगायतले मन्तव्यका साथ गजल वाचन गरेका थिए ।

त्यस्तै, कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष यश लामा, निवर्तमान अध्यक्ष देवराज तिवारी, सल्लाहकार पुरुषोत्तम आचार्य, गजलकारहरु विष्णु गौतम, सानू खनाल, ऋषि केबि, विशाल अधिकारी ’आशुतोष’, रजनी पौडेल, सुवास सजल, सुनिल गौतम, अनिल कोइराला, प्रेरक गौतमलगायतले गजल वाचन गरेका थिए ।

गजल विधाको उन्नयन र प्रवर्द्धनमा काम गर्दै आएको गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्दै आएको छ । मञ्चले पछिल्लो समय विद्यालयहरुमा पुगी गजल प्रशिक्षणको कार्यक्रम गरी नवसर्जक केन्द्रित शृङ्खलाहरुसमेत संचालन गरिरहेको छ ।