धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

तु खबर संवाददाता
२०८० भाद्र २, शनिबार ०९:५९

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक आज बिहान यात्रु बस दुर्घटनामा २६ जना घाइते भएका छन् ।

तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, घाइते सल्यान सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर रहेको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।