मकवानपुरमा डेंगू संक्रमितको संख्या १६३ पुग्यो, सबैभन्दा धेरै हेटौंडाका

मकवानपुर । मकवानपुरमा एक महिनाको अवधिमा डेंगू संक्रमितको संख्या १६३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ७ जनामा डेंगू संक्रमण पुष्टि भएसँगै कूल संख्या १६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो । जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ११५ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी गाउँपालिकामा १ जना, भीमफेदी गाउँपालिकामा २ जना, बकैया गाउँपालिकामा १ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जनामा र अन्य जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, जिल्लामा डेंगू संक्रमणका कारण साउन १ गतेदेखि हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका एक जना पुरुष रहेका छन् ।