सवारी दुर्घटनामा परेर २० जना घाइते, सातको अवस्था गम्भीर
चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा विभिन्न आठ वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नं को स्कुटरसहित आठ वटा सवारी साधन एकापसमा ठोक्किएको थियो ।
उक्त दुर्घटनामा परेर घाइते भएकामध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
