बागमतीमा साढे १३ हजारभन्दा बढी पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइयो

तु खबर संवाददाता
२०८० श्रावण २८, आईतवार १७:१८
सांकेतिक फोटो : गुगलबाट

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन दिनमा साढे १३ हजारभन्दा बढी पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको साताव्यापी खोप अभियानअन्तरगत बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनमा १३ हजार ५ सय १६ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो ।

उक्त लम्पी स्कीन रोगविरुद्ध खोप अभियानको पहिलो दिन ४हजार ४ सय ६७, दोस्रो दिन ४ हजार ६ सय ९४ र तेस्रो दिन ४ हजार ३ सय ३३ पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

उक्त अभियानअन्तरगत पछिल्लो तीन दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको छ । त्यहाँ २ हजार ४ सय ८८ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारीले बताए ।

यसैगरी, मकवानपुरका २ हजार ४४, काभ्रेका १ हजार ५ सय २२, सिन्धुलीका १ हजार १९८, धादिङका १ हजार ५५, काठमाडौंका १ हजार ४२, नुवाकोटका ९९८, रामेछमपका ९८२, सिन्धुपाल्चोक ८५६, रसुवा ५८३, भक्तपुर ५५४, ललितपुरका १७ र दोलखाका ८३ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको अधिकारीले बताए ।

आगामी साउन ३२ गतेसम्म संचालन हुने उक्त खोप अभियान अन्तर्गत ५० हजार पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइने लक्ष्य रहेको उनले बताए ।