बागमतीमा ४४६७ पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोप लगाइयो
मकवानपुर । बागमती प्रदेशमा बिहीबार एकैदिन ४ हजार ४६७ गाईभैंसीलाई लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको छ ।
प्रदेशको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको साताव्यापी खोप अभियानअन्तरगत बिहीबार पहिलो दिन उक्त संख्याको गाईभैंसीलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो ।
उक्त लम्पी स्कीन रोगविरुद्ध खोप अभियान पहिलो दिन सबैभन्दा बढी चितवनका गाईभैसीलाई खोप लगाइएको हो । त्यहाँ १ हजार १६ गाईभैंसीमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।
यसैगरी, मकवानपुरका ७२४, सिन्धुपाल्चोकका २७५, रामेछापका २४२, रसुवाका ७५, नुवाकोटका १९८, काभ्रेका ६९८, धादिङका १८१, भक्तपुरका २०७, ललितपुरका ११९, काठमाडौंका ३७९ र सिन्धुलीका ३५३ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको अधिकारीले बताए ।
उनका अनुसार, दोलखामा भने खोप अभियान अन्तर्गत खोप लगाउने कार्यक्रम सुरु भएको छैन ।
आगामी साउन ३२ गतेसम्म संचालन हुने उक्त खोप अभियान अन्तर्गत ५० हजार पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइने लक्ष्य रहेको उनले बताए ।
लम्पी स्किन रोगबाट बागमती प्रदेशका १३ जिल्लामा ६ हजार २९१ गाईभैंसीको मृत्यु भएको छ भने १ लाख १० हजार ४४० संक्रमित भएका छन् ।
