त्रिशूली नदीले बगाएको अवस्थामा महिलाको शव फेला

नुवाकोट । त्रिशूली नदीले बगाएर ल्याउने अवस्थामा नुवाकोटको दर्शनटारमा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको विदुर नगरपालिकास्थित दर्शनटारमा बुधबार बेलुकी त्रिशूलीले बगाएर ल्याएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नदीले बगाएर ल्याएको अवस्थामा महिलाको शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार, मृतक महिलाले घाँटीमा तिलहरी, शरीरमा प्याजी रंगको बुट्टे कुर्था र हरियो रंगको सुरुवाल हातमा केही थान चुरा लगाएकी छन् ।
शव घटनास्थल मुचुल्का गरी नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको नुवाकोट प्रहरीले जनाएको छ ।