बागमतीमा आजबाट लम्पी स्कीन रोगविरुद्ध खोप अभियान सुरु
मकवानपुर । बागमती प्रदेशमा आजबाट लम्पी स्कीन रोगविरुद्धको खोप अभियान सुरु हुने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाइभैसीमा तीव्र रुपमा फैलिएको लम्पी स्कीन रोगविरुद्धको खोप अभियान सुरु गर्ने भएको हो ।
आजबाट एक सातासम्म संचालन हुने उक्त अभियान प्रदेशका १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट एकै पटक सुरुवात गरिने भएको हो ।
मन्त्रालयले प्रदेशका १३ जिल्लाका ५० हजार गाईभैसीमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाउने लक्ष्य लिएको मन्त्रालयका पशु चिकित्सक निशान्त शर्मा गेलालले जानकारी दिए । उनका हाल प्रदेशमा लम्पी स्कीन रोगबाट संक्रमित पशुको विरामी हुने दर १०.२७ प्रतिशत रहेको छ भने उक्त संक्रमण्बाट मृत्यु हुने पशुको ३.१ प्रतिशत रहेको छ ।
मन्त्रालयले यस पटक ९१ वटा स्थानीय तहमा खोप अभियान संचालन गर्ने उनले बताए । मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरको १६, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरको १०, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नुवाकोटको १७, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङको ५ स्थानीय तहमा खोप अभियान संचालन गर्ने भएको हो ।
यसैगरी, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनको ७, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखाको १३, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेको ६, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीको १७ स्थानीय तहमा खोप अभियान संचालन गर्ने भएको पशु चिकित्सक गेलालले बताए ।
उनका अनुसार खोप अभियान पश्चात पनि रोगको अवस्थाका आधारमा खोप कार्यलाई निरन्तरता दिने मन्त्रालयको योजना रहेको छ ।
