उच्च अदालत पाटन हेटौंडाबाट ७५ प्रतिशत मुद्दा फछ्र्यौट

तु खबर संवाददाता
२०८० श्रावण २३, मंगलवार १७:३२

मकवानपुर । उच्च अदालत पाटन, हेटौंडा इजलासबाट एक वर्षको अवधिमा १ हजार ३ सय वटा अर्थात ७५ दशमलव ३६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

उच्च अदालत पाटन, हेटौंडा इजलासका रजिष्टार जगदिशप्रसाद भट्टले गत आर्थिक वर्ष ०७९/०८० मा नयाँ दर्ता भएको मुद्दा र जिम्मेवारी सरी आएको मुद्दामध्ये उक्त प्रतिशत मुद्दा फछ्र्यौट गरेको जानकारी दिए ।

उनका अनुसार, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ५ सय ४५ वटा मुद्दा रहेका थिए भने गत वर्षमा नयाँ १ हजार १ सय ९६ वटा मुद्दा पुनरावेदनका लागि दर्ता भएको थियो ।

अदालतमा ६ महिना भित्रको बाँकी मुद्दा ३ सय १९, ६ महिनादेखि एक वर्ष भित्रको ८० वटा, एक वर्षदेखि १८ महिनाभित्रको २९ वटा र १८ महिनाभित्रका एक मात्र मुद्धा बाँकी रहेको इजलाशका रजिष्टार भट्टले बताए ।

गत वर्ष पुनरावेदनका लागि दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै लागूऔषधसम्बन्धी रहेका छन् । उक्त वर्ष दर्ता भएकामध्ये २ सय ८९ वटा मुद्दा लागूऔषधको भएको रजिष्टार भट्टले बताए ।

गत वर्ष हेटौंडा इजलाशले ६१ वटा मुद्दा मेलमिलापका लागि पठाइएकोमा ७ वटा मात्र मेलमिलाप गर्न सकिएको बताइएको छ । २ वटा मेलमिलापको क्रममा रहेको छ ।