थाहा नगरमा नक्सा पास गरेर मात्रै घर बनाउन पाइने

तु खबर संवाददाता
२०८० श्रावण १९, शुक्रबार १६:३५
file-photo

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा नक्सा पास गरेर मात्रै घर तथा भवन बनाउन पाइने भएको छ ।

नगरपालिकाले विहिबार सूचना जारी गर्दै नीजि, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीद्वारा जारी सूचनामा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २७ बमोजिम नगर क्षेत्रभित्र नक्सा पास गरेर मात्रै नीजि तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

‘यस थाहा नगरपालिकाभित्र कुनैपनि नीजि, ब्यापारिक तथा सार्वजनिक भवनको निर्माण सुरु गर्दा अनिवार्य रुपमा नगरपालिकाबाट नक्सा पास गराएर मात्र निर्माण कार्य गर्नु गराउनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । यदि यो सूचना विपरित नक्सा पास नगरी निर्माण कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’ सूचनामा उल्लेख छ ।

नगर क्षेत्रको बसोबासलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारिएको मेयर विष्णुबहादुर विष्टले बताए ।