बिँडी नदिएको निहुँमा पुरुषको हत्या
जनकपुरधाम । सप्तरीमा एक युवकले बिँडी नदिएको निहुँमा एक जनाको हत्या गरेको खुलेको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–८, बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागी खाने अन्दाजी ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका थिए ।
उनलाई चिरपट प्रहार गरि हत्या गरिएको प्रहरीको आशंका थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको खुल्न आएको जनाएको छ ।
प्रहरीले उक्त पुरुषको हत्यामा संलग्न रहेको खुल्ने बित्तिकै प्रहरीले बुधबार नै मनोजलाई पक्राउ गरेको छ । प्रहरीको हिराशतमा रहेका मनोजले मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिँडी खाइरहेको र आफूलाई पनि खान मन लागेपछि उनलाई मागेको बताए ।
उनले सो क्रममा ती पुरुषले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बाँसको लाठीले उनको टाउकोमा चार÷ पाँच लाठी प्रहार गरि भागेको मनोजले बयान दिएको जनाइएको छ ।
पक्राउ परेका मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानून बमोजिम कारबाही गर्ने सप्तरी प्रहरीले जनाएको छ ।
