हेटौंडा अस्पतालमा २ वटा डाइलासिस मेसिन थपियो

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा दुई वटा डाइलासिस मेसिन थप गरिएको छ । अस्पतालमा सोमबारबाट दुई वटा डाइलासिस मेसिन थप गरिएको हो ।
मृर्गौलाका बिरामीहरूलाई दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउनका लागि हेटौंडा उपमहानगरपालिकाको पहलमा ती मेसिन थप गरिएको हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार, २ वटा डायलिसिस मेसिन थपिएसँगै अब हेटौंडा अस्पतालमा मेसिनको संख्या १४ पुगेको छ । तीमध्ये एउटा मेसिन बिग्रिएर मर्मतको काम भइरहेकोले १३ वटा मेसिनबाट मात्रै सेवा दिन सकिने उनले बताए ।
हेटौंडा अस्पतालमा हाल हप्तामा ११० जना मृगौला सम्बन्धी समस्या भएका बिरामीहरूको निःशुल्क डाइलासिस भइरहेको र डाइलिसिस सेवा लिनका लागि थप ४५ जना बिरामी पर्खाइमा रहेको उनले बताए ।