बागमतीको ४० हजार भन्दाबढी पशुमा लम्पी स्कीन संक्रमण
मकवानपुर । बागमती प्रदेशमा लम्पी स्कीन रोगको संक्रमणबाट हालसम्म ४० हजार भन्दा बढी गाईभैंसी संक्रमित भएको छ ।
केही महिना अघिदेखि देखिएको उक्त संक्रमणबाट प्रदेशका १३ जिल्लाका ४० हजार ३७२ गाई भैसीमा संक्रमण पुष्टि भएको छ भने सो संक्रमणबाट एक हजार २४८ गाई भैंसीको मृत्यु भएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाले जनाएको छ ।
मन्त्रालयका अनुसार, ६१७ बाच्छाबाच्छी, ३५ हजार ६७८ गाई, ३ हजार ३०९ गोरु र ७५९ भैसीमा संक्रमण पुष्टि भएको छ भने ४६ बाच्छाबाच्छी, १ हजार ८६ गाई, १०३ गोरु र १३ भैसी संक्रमणका कारण मृत्यु भएको छ ।
लम्पी स्कीन रोगको संक्रमणबाट सबैभन्दा बढी धादिङका गाईभैसी प्रभावित बनेका छन् । त्यहाँ ६१७ बाच्छाबाच्छीसहित ९ हजार ५४९ गाईभैसीमा संक्रमण देखिएको छ । जसमा गाई ५ हजार २१२, गोरु ३ हजार ३०९ र भैसी ४११ रहेका छन् । रोगको संक्रमणका कारण धादिङमा ४६ बाच्छाबाच्छी, ९३ गाई, १०२ गोरु र ११ भैसी गरी कुल २५२ पशुवस्तु मरेका छन् ।
त्यस्तै, चितवन ६ हजार ५३९ गाई र २६० भैसी गरी ६ हजार ७९९ गाई भैसीमा संक्रमण पुष्टि भएको छ भने १७६ गाई मरेका छन् । मकवानपुरमा ७ हजार २८२ गाई र १३ भैसी गरी ७ हजार २९५ गाई भैसीमा रोगको संक्रमण पुष्टि भएको छ भने २७४ गाई संक्रमणका कारण मरेका छन् । नुवाकोटमा ६ हजार १ गाईमा संक्रमण पुष्टि हुँदा १७८ गाई संक्रमणका कारण मरेका छन् ।
त्यसैगरी, रोगको संक्रमणबाट सिन्धुली ३२४ गाईमा संक्रमण देखिएको छ भने ९ गाई मरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार, काठमाडौंमा ९३९ गाई र ३ भैसी गरी ९४२ गाई भैसीमा संक्रमण पष्टि हुँदा ९० गाई र २ भैसी गरी ९२ गाई भैसी मरेका छन् । ललितपुरमा ५३८ गाई र ७ भैसीमा गरी ५४५ गाई भैसीमा संक्रमण पुष्टि भएको छ । जसमध्ये २१ गाईहरु रोगको संक्रमणका कारण मरेका छन् । भक्तपुरमा ८३० गाईमा संक्रमण देखिएको छ भने १८ गाई मरेका छन् ।
यसैगरी, काभ्रेमा १२१ गाईर १० भैसी गरी १३१ गाई भैसीमा संक्रमण देखिएको छ भने ४ वटा गाई रोगको संक्रमणबाट मरेका छन् । रसुवामा २३४ गाइुमा संक्रमण देखिएको छ भने १५ गाई संक्रमणका कारण मरेका छन् । रामेछापमा २१६ गाईमा संक्रमण देखिदाँ एक गाई मरेको छ ।
त्यस्तै, दोलखामा ३ हजार १५६ गाई र २५ भैसी गरी ३ हजार १८१ गाईभैसीमा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५१ वटा गाई संक्रमणका कारण मरेका छन् । सिन्धुपाल्चोकमा ४ हजार २९५ गाई र ३० भैसी गरी ४ हजार ३२५ गाई भैसीमा संक्रमण पुष्टि भएको छ । जसमध्ये १५७ गाई रोगको संक्रमणका कारण मरेका छन् ।
