बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना गम्भीर

तु खबर संवाददाता
२०८० असार २५, सोमबार १५:२२

धनगढी । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु २ ख २०११ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारी रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ भने १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको छ ।

बस दुर्घटनाको कारण भने हाल नखुलेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।