बागमती प्रदेश सभा ४ः३० बजेसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभा बैठक ४ः३० बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको बिहीबार बसेको बैठक स्थगित गर्दै दोस्रो बैठक साढे ४ बजे बस्ने जानकारी गराएका हुन् ।
प्रदेश सभाको आज अपराह्न बसेको पहिलो बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथिको छलफलको क्रममा उठेको प्रश्नको मन्त्रीहरुले मन्त्रालयगत जवाफ दिएका थिए ।
आज बसेको पहिलो बैठकमा गरी खानेपानी, उर्जा तथा यातायातमन्त्री तिर्थबहादुर लामा, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त विनियोजित विधेयकमाथि उठेको प्रश्नको जवाफ दिएका हुन् ।
यसअघि बुधबार बसेको प्रदेश सभाका ६ जना मन्त्रीले मन्त्रालयगत प्रश्नको जवाफ दिएका थिए । जसमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरणमन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ रहेका छन् ।
उक्त विनियोजित विधेयकमाथि गत असार १८ गतेदेखि छलफल सुरु भएको थियो ।
