बागमती प्रदेश सभा : ६ मन्त्रीले दिए विनियोजित विधेयकमाथि उठेको प्रश्नको जवाफ
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को छलफलको क्रममा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिएका छन् ।
असार १८ गते सोमबारबाट छलफल सुरु भएको उक्त विधेयकमाथि प्रदेश सभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची अनुसार, आजबाट मन्त्रीहरुले मन्त्रालयगत जवाफ दिएका हुन् ।
आज बुधबार ६ जना मन्त्रीहरुले मन्त्रालयगत जवाफ दिएका थिए । जसमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरणमन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ रहेका छन् ।
उनीहरुले छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै योजनाको तर्जुमा र छनौट गर्दा कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट नगरिएको र आर्थिक स्रोधसाधनले भ्याएसम्म राष्ट्रिय गौरवको आयोजना, खानेपानी, सिचाईँ, पक्की सडक, पक्की पुल र विद्युत विस्तार, पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन बताए ।
उनीहरुले कृषि उत्पादन, पशुपंक्षीको उपचार, स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय तुल्याउने शिक्षालाई दक्ष जनशक्ति उत्पादनको लागि आवश्यक पूर्वाधार तयार गरी लागू गर्दै लैजाने प्रतिवद्धता जनाए ।
यसैगरी, सम्बन्धित मन्त्रीहरुले आलोपालोका साथ आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यप्रगतिको साथै आगामी आर्थिक वर्षको लागि तर्जुमा गरिएको योजनालाई सम्बन्धित जिल्लाहरुको स्थानीय निकाय र जिल्ला समन्वय परिषद्मार्फत अगाडि बढाउने विश्वास व्यक्र गरे ।
उनीहरुले वनलगायत सरकारी जग्गाको संरक्षण, पर्यटन क्षेत्रको विस्तार, धार्मिक मठमन्दिरको मर्मत सम्हार र उत्पादनशील क्षेत्रलाई जोड्ने बैकल्पिक राजमार्गलाई निर्माण र मर्मत सम्हारको लागि पनि बजेट विनियोजित गरिएको जानकारी गराए ।
प्रदेशको सबै जिल्लामा बाढी–पहिरोबाट प्रभावित क्षेत्रलाई संरक्षण गर्दै दीर्घकालिन योजनको तर्जुमा गरी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई अन्यन्त्र पुनस्थापना गर्न र दैविक प्रकोप उद्धार समितिमार्फत घाइतेहरुको उद्दार, उपचार, र आवश्यक सामाग्री वितरण गर्नेतर्फ सरकारले पहल गर्ने दृढता व्यक्त गरे ।
बाँकी केही मन्त्रीहरु र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भने भोलि बस्ने प्रदेश सभामा उक्त विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
उनका अनुसार, भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेश सभामा आज जवाफ दिन छुटेका मन्त्रीहरुले जवाफ दिएलगतै प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको विनियोजित बजेट पारित गर्ने कार्यसूची रहेको छ ।
