प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०८० असार २०, बुधबार १८:४६
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । नेकपा एमालेको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको बैठक दलहरुबीच सहमति हुन नसक्दा भोलिसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक–पटक दिल्ली गएको भनि दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो ।

एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।

संसद सचिवालयका एक अधिकारीका अनुसार, बैठक स्थगितको सूचना जारी गर्ने तयारी भइरहेको छ ।