गुण्डा नाइके बस्न्यातलाई जन्मकैदको फैसला

तु खबर संवाददाता
२०८० असार २०, बुधबार १७:२८
file-photo

काठमाडौं । हत्याका मुख्य योजनाकार गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेका बस्न्यातलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार जन्मकैदको फैसला सुनाएको हो ।

यस्तै, काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ । हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय र समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको काठमाडौैं जिल्ला अदालतले जनाएको छ ।

यसअघि असार १२ गते न्यायाधीश घिमिरेको इजलासलाई २४ जना प्रतिवादीमध्ये ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर निर्धारणका लागि बुधबारको पेसी तोकेका थिए । असार १० गते पेसीमा चढेपछि उक्त मुद्दालाई न्यायाधीश घिमिरेले हेर्दाहेर्दैमा राखी लगातार तीन दिन सुनुवाइ गरेका थिए ।

असार १२ गतेको सुनुवाइपछि न्यायाधीश घिमिरेले ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर ठहर गरेका थिए । २०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा पर्ने प्रयागचोकमा दिउँसो २ः५० बजे गोली प्रहार गरी हत्या गरिएको थियो ।

सो घटनामा संलग्न भन्दै प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।