नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

तु खबर संवाददाता
२०८० असार १८, सोमबार ०८:३७
file-photo

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ । आइतबार साँझ ६ बजेदेखि खुलेको उक्त सडकखण्डमा आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा उपचार भइरहेको छ ।

ट्रक सडकमै रहेको र पहिरो पनि झरेकाले दुईतर्फी नै आउ–जाउ बन्द भएको र पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो । त्यसअघि पनि बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो ।