हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते, एकको अवस्था गम्भीर

तु खबर संवाददाता
२०८० असार १५, शुक्रबार १६:०२

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरमा आज अपराह्न यात्रुवहाक बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् ।

चितवनको नारायगढबाट जनकपुरतर्फ जान आइरहेको ना ६ ख ९८०४ नम्वरको यात्रुवहाक बस अनियन्त्रित भई दुर्घटना हुँदा ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार, घाइतेमध्ये एक जनाको अवस्थामा गम्भीर रहेको र उनलाई चुरेहिल अस्पतालमा सामान्य उपचारपश्चात चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर घाइते भएका २१ जनाको हेटौंडास्थित चुरेहिल अस्पताल र ३० जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हाल पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

बस चालक भने अहिलेसम्म प्रहरीको सम्पर्कमा नरहेको र उनको खोजतलास कार्य जारी रहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।