आजको प्रतिनिधि सभामा बजेट पारितका लागि अर्थमन्त्रीले प्रस्ताव पेस गर्दै

तु खबर संवाददाता
२०८० असार १३, बुधबार १०:४७
file-photo

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस हुने भएको छ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवनमा बस्ने भएको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

आजको कार्यसूचीमा बजेट पास गर्ने भएपछि कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्णयार्थ प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन भन्दै निर्देशन दिइएको छ ।

संसद बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले बजेट संशोधन नभए पास हुन नदिने बताइरहेका छन्। नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, नेकपा एस र जनमत पार्टीका सांसदहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने अभिव्यक्ति दिँदै आएका छन्। सत्ता गठबन्धनमा सहभागी दल जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले ह्वीप जारी गरेका छैनन् ।

यसैगरी बजेट पास गर्न संसदमा पेश हुन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

प्रचण्डको जवाफपश्चात सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका लागि सांसदले पेश गरेको प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यस्तै अर्थमन्त्री महतले आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र आर्थिक विधेयक, २०८० माथि दफावार छलफलको लागि दिन तोकिने कार्यसूची रहेको छ ।