मकवानपुरगढी गाउँपालिकाको बजेट ६२ करोड २ लाख

तु खबर संवाददाता
२०८० असार ११,सोमबार ०८:०९

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आइतबार ६२ करोड २ लाख ५६ हजारको बजेट ल्याएको छ ।

गाउँपालिकाको ९ औंँ गाउँसभामा पालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली (पाख्रीन) ले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि उक्त रकमको बजेट ल्याएको जानकारी दिएकी हुन् ।

प्रस्तुत बजेटको पुजीँगततर्फ ३२ करोड १९ लाख १२ हजार ८६४ र चालुतर्फ २९ करोड ८३ लाख ४३ हजार १३६ रहेको छ ।

पालिकाले चालु आवको तुलनामा आगामी अवको बजेट करिब ५ हरोड ४२ लाख रुपैयाँ कम बजेट ल्याएको छ । पालिकाले चालु आर्थिक वर्षमा ६७ करोड ४४ लाखको बजेट ल्याएको थियो ।

पालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८ करोड रुपैयाँ, आर्थिक विकासतर्फ ३ करोड ४८ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ २४ करोड ९६ लाख ५६ हजार रुपैयाँ, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४८ लाख रुपैयाँ, सामाजिक विकासतर्फ २४ करोड ३५ लाख रुपैयाँ र वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट १८ करोड ५ लाख ७८ हजार, सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख, प्रदेश सरकार वित्तीय मानिकरण अनुदान ८६ लाख र वित्तीय समानिकरण अनुदानमा १० करोड ६० लाख उल्लेख गरिएको छ ।

त्यस्तै, संघीय सरकार शशर्त अनुदानमा २३ करोड ९ लाख, प्रदेश सरकारबाट २ करोड २२ लाख ७८ हजार, संघीय सरकार समपूरक अनुदान ८० लाख, प्रदेश सरकारको २ करोड ५० लाख गरी ३ करोड ३० लाख र संघीय सरकारबाट विशेष अनुदानमा २ करोड ७५ लाख र प्रदेशबाट १ करोड रकम प्राप्त हुने अनुमान गरिएको छ ।