हेटौंडामा २५ मिटर सडक विस्तार हुनेः घर टहरा हटाउन आग्रह

तु खबर संवाददाता
२०८० असार १०, आईतवार ०९:४४
file photo

मकवानपुर । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार हुने भएको छ ।

सडक डिभिजन हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर भित्र रहेका घर टहरा ३५ दिनभित्र हटाउन भन्दै आज सूचना जारी गरेको छ ।

सर्वोच्च अदालतको मिति २०७८/९/१९ को उत्प्रेरण आदेशमार्फत् उक्त खण्डको सडक सीमासडक केन्द्रबाट २५/२५ जग (७५/७५ फिट) कायम भएको, उल्लेख भएको भन्दै सडक डिभिजन कार्यालय हेटौंडाले आज पुनः सडक क्षेत्रका अतिक्रमित घर टहरा तथा अन्य संरचना हटाउन सूचना जारी गरेको हो ।

‘सडक क्षेत्रभित्र बनेका स्थायी/अस्थायी घर टहरा तथा अन्य संरचना भत्काउन यस अघि विभिन्न राष्ट्रिय पत्रिकाहरुमा सूचना प्रकाशित गरिएकोमा हालसम्म पनि अतिक्रमित संरचना हटाइएको नपाइएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उक्त सडकखण्डमा अतिक्रमित गरी बनाइएका संरचनाहरु सडक सीमाबाट हटाउन सम्बन्धित स्थानीय तह सरोकारवाला निकाय तथा सम्पूर्णलाई सहयोगको लागि अनुरोध छ ।’ आज प्रकाशित सूचनामा उल्लेख छ ।

३५ दिनभित्र सडकसीमा अभिक्रमण गरी बनाइएका संरचना नहटाएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक डिभिजन हेटौंडाले हटाउने र सो बापत् लाग्ने शुल्क सम्बन्धित निर्माणकर्ताबाट असुल गरिने समेत सूचनामा उल्लेख छ ।

वर्षौँदेखि विभिन्न अवरोधका कारण सडक विस्तार हुन नसकेपनि यस पटक विस्तारको कार्यले पूर्णता पाउने सडक डिभिजन हेटौंडाका सूचना अधिकारी यादव सुवेदीले जानकारी दिए ।

‘सडक विस्तारका लागि कानूनी जटिलता अब छैन । वर्षौँदेखि विभिन्न बहानामा विस्तार कार्यलाई रोक्ने प्रयास गरिएको भएपनि यस पटक विस्तारको कार्यले पूर्णता पाउँछ ।’ उनले भने ।