प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुक्रबार हुने
काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग यही असार ८ गते शुक्रबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुने जानकारी गराएका हुन् ।
उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए । उनले यो महिना भने समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यहरूको पालो रहेको उनले जानकारी गराए ।
प्रधानमन्त्रीलाई सोध्ने प्रश्न आजै (मंगलबार) दिनको ५ बजेसम्म प्रतिनिधि सभाका सचिव समक्ष लिखित रूपमा दिन सभामुखले प्रतिनिधि सभा सदस्यहरूलाई आग्रह गरेका छन् ।
