ताप्लेजुङ पहिरो अपडेट : बेपत्ता भएका एक जनाको शव फेला

तु खबर संवाददाता
२०८० असार ४, सोमबार १५:२६

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय केशरबहादुर राईको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, सोही पहिरोमा परी घाइते भएका सुरेश राईको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, पहिरोमा परेर घाइते भएका राजकुमार राईको अवस्था भने गम्भीर रहेको छ । उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ ।

पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए । जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए ।

मेहेलेमा शनिवार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले ६ घरलाई बगाएको छ ।