आज यी छ प्रदेशमा बजेट सार्वजनिक हुने
काठमाडौं । आज कोशी प्रदेशबाहेक देशका ६ वटा प्रदेश सरकारमा आर्थिक वर्ष ०८०–०८१ को बजेट आज सार्वजनिक हुने भएको छ । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरूले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।
कोशी प्रदेशमा भने संसद् अधिवेशन अन्त्य गरिएकोले हिजो जेष्ठ ३२ गते नै अध्यादेशमार्फत बजेट ल्याइएको छ ।
संविधानतः संघ सरकारले जेष्ठ १५ मा र प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्ने व्यवस्था छ । सोही अनुरूप प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
प्रदेश सरकारहरूले आ–आफ्नो प्रदेशअनुरूप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा परेका छन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिजो पत्रकार सम्मेलन गर्दै अध्यादेश मार्फत ल्याएको आर्थिक वर्ष २०८०–८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिसकेका छन् ।
