एनआरएनए न्युयोर्क च्याप्टरको अध्यक्ष पदमा पाण्डेको उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०८० जेष्ठ ३१, बुधबार २०:४८

न्युयोर्क ।  गैर आवसीय नेपाली संघ अमेरिका, न्युयोर्क च्याप्टरको अध्यक्ष पदमा शोभाकान्त पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । न्युयोर्कमा रही सामाजिक कार्यमा संलग्न पाण्डेले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २०१९ देखि २०२१ सम्म च्याप्टरको कोषाध्यक्ष र २०२१ देखि हालसम्म उपाध्यक्षको रुपमा जिम्मेवारीमा रहेका पाण्डेले नेपालीको हकहीत र सरोकारका लागि अध्यक्षमा उम्मेदवारी दिन लागिएको जानकारी दिए ।

आगामी २०२३ देखि २०२५ सम्मको कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने गरी आवश्यक तयारी अघि बढेको पाण्डेले बताए । त्यसका लागि न्युयोर्कमा रहेका नेपाली समुदायसँग छलफल गरिरहेको र आफ्नो कार्यकालमा सम्पन्न गर्ने कामहरुको योजना बनाएर अघि बढ्न लागेको उनले बताए । नेपालीको हीत र सरोकार नै मेरो सरोकार हो, योजना निर्माणको काम गरिरहेको छु, संघमा बसेर आजसम्म हाँसिल गरेको अनुभवका आधारमा अध्यक्षको रुपमा महत्वपूर्ण काम गर्नेछु– पाण्डेले भने ।

नेपालीले झेल्दै आएका समस्या समाधानमा सहजीकरण गर्ने गरी काम गर्ने योजना रहेको पाण्डेले स्पष्ट पारे । मैले कोषाध्यक्ष, उपाध्यक्ष लगायतको जिम्मेवारीमा बसेर अनुभव हाँसिल गरे, यथासंभव गरेँ अब अध्यक्षको रुपमा धेरै काम गर्नुछ– उनले भने ।