मनहरीका महिलालाई सिलाई मेशिन तथा प्रमाणपत्र प्रदान
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा ४५ दिने एडभान्स सिलाई कटाई सीप सिकेका महिलाहरूलाई मंगलबार सिलाई मेशिन तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
महिला सशक्तीकरण तथा गरिबी निवारण समूह मकवानपुरको आयोजना तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा गत बैशाख २५ गतेबाट मनहरी बजारमा भएको ४५ दिने एडभान्स तालिम समापन कार्यक्रमपश्चात् सीप सिकेका २० जना सहभागीलाई सिलाई मेशिन प्रदान गरिएको हो ।
कार्यक्रम मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले महिलालाई सीप सिकाएर गरिखाने बनाउने लक्ष्यसहित दिईएको तालिममा सिकेको सीप उपयोग गरेर आत्मनिर्भर बनी अरुलाई पनि रोजगारी दिन सहज हुने बताए ।
तालिम समापन तथा मेशिन वितरण कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, महिला सशक्तीकरण तथा गरिबी निवारण समुह मकवानपुरको अध्यक्ष ईन्दिरा न्यौपाने, समृद्ध नेपालकी उपाध्यक्ष दीपा पौडेल बानियाँ, प्रशिक्षक लक्ष्मी प्रजा, सहभागी सरिता वाईबालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
