भारतमा सडक दुर्घटना, ४ नेपालीको मृत्यु
दोधारा चाँदनी । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परेर चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
मृत्यु हुनेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती चन्द, बुहारी २७ वर्षीया नर्मदा चन्द र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्द रहेका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई अस्पताल पुर्याउने बित्तिक्कै मृत घोषणा गरिएको भारतीय संचारमाध्यमले जनाएको छ । संचारमाध्यमका अनुसार, उनीहरु सबै पूजापाठ सकेर फर्किरहेका थिए ।
उक्त घटनाबारे विभिन्न सञ्चारमाध्यमबाट जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी नआएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
