गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीका अनुसार, काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले गएराति सडक छेउमा हिँडिरहेका उनलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
