जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते

तु खबर संवाददाता
२०८० जेष्ठ २२, सोमबार ०८:३५

पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा आइतबार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् । मृतकमध्ये संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको हो ।

यस्तै, उक्त दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।