राज्यकोषको दुरुपयोगः वडाको भवन उद्घाटन गर्न मुख्यमन्त्री र मन्त्रीको टोली

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित प्रदेशका मन्त्रीहरु सिन्धुलीमा आज एउटै मञ्चमा देखिए ।
आइतबार मुख्यमन्त्री जम्कट्टेलसहित प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ र उर्जा सिचाई तथा खानेपानीमन्त्री तीर्थ लामा एउटै मञ्चमा देखिएका हुन् ।
मरिण गाउँपालिका–२ नम्वर वडाको भवन उद्घाटन गर्न मुख्यमन्त्री र थप दुई मन्त्री सिन्धुली पुगेका हुन् । प्रदेश सभा सदस्य छेत्रबहादुर बम्जन पनि कार्यक्रममा सहभागी थिए ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्थानीय तहले जनताको आधारभूत आवश्यकता पूरा गर्दै अनावश्यक खर्च कटौती गर्नुपर्ने सुझाव दिए । मन्त्री श्रेष्ठ र लामाले पनि तीनै तहका सरकारले अब राज्यकोषको दुरुपयोग नगरी जनतामुखी काम गर्नुपर्ने धारणा व्यक्त गरे । तर, एउटा वडाको भवन उद्घाटन गर्न प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्री पुग्दा उनीहरुबाटै राज्यकोषको दुरुपयोग भएको छ ।
एउटै कार्यक्रमका लागि मन्त्रीहरुको समूह नै पुग्दा राज्यकोषबाट हुने खर्च बढ्ने भन्दै अहिले जनस्तरबाट विरोध भइरहेको छ ।
वडा सचिव किरण राईले वडा अध्यक्ष र गाउँपालिका अध्यक्षको निर्देशनमा प्रदेशका मन्त्रीहरुलाई उद्घाटन कार्यक्रममा पत्राचारमार्फत् निमन्त्रणा गरिएको बताए ।
‘हामीले सबै मन्त्रीज्यूहरुलाई पत्राचारमार्फत् निमन्त्रणा गरेका थियौँ । उहाँहरु आइदिनुभयो, कार्यक्रम सफल भयो ।’ उनले भने ।
८६ लाख ७२ हजार लागतमा निर्माण भएको ९ कोठे भवनको आज उद्घाटन गरिएको हो ।