रास्वपाद्वारा डेंगु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता

तु खबर संवाददाता
२०८० जेष्ठ २१, आईतवार १८:४०
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेंगु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेंगु रोग फैलन नदिन यस वर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराइएको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए ।

संकल्पको प्रस्तावमा भनिएको छ,“यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसद्बाट निर्देशन जारी हुन आवश्यक देखिएको छ ।”

यस्तै, संकल्पको प्रस्तावमा डेंगु रोगका विषयमा व्यापक जनचेतना जोगाउनका लागि प्रभावकारी कार्यक्रम संचालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रणका लागि जनस्वास्थ्य निरीक्षकलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ ।

त्यस्तै, वर्षायाम सुरु हुनुअगावै महामारी रोकथाम एवं प्रतिकार्यका लागि आवश्यक तयारी गर्न, उपचारका लागि अस्पतालको क्षमता वृद्धि गर्न र निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र अन्य संघसंस्थाको साधनस्रोत र क्षमताको अत्यधिक परिचालन गर्न पनि निर्देशन माग गरिएको छ ।