गर्मी बढेसँगै पाँच दिन विद्यालय बन्द गर्ने मकवानपुरगढी गाउँपालिकाको निर्णय

तु खबर संवाददाता
२०८० जेष्ठ २१,आईतवार १५:३३
file-photo

मकवानपुर । अत्याधिक गर्मी बढेसँगै मकवानपुरगढी गाउँपालिकाले पनि पालिकाभित्रका सबै निजी तथा सामुदायिक विद्यालयहरु पाँच दिन बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएपछि वर्षे विदाबाट कट्टा हुनेगरी पाँच दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

जारी सूचना अनुसार, पालिकाभित्र रहेका सबै विद्यालयमा भोलि जेष्ठ २२ गते सोमबारदेखि जेष्ठ २६ गते शुक्रबारसम्म पठनपाठन बन्द रहनेछ ।

गर्मी बढेसँगै मकवानपुरको विभिन्न स्थानीय तहले पठनपाठनमा समस्या देखिएको भन्दै भटाभट विद्यालय बन्द गर्ने निर्णय गरिरहेको छ । यसअघि हेटौंडा उपमहानगरपालिकाले ६ दिन र बकैया गाउँपालिकाले ७ दिन पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । ती दुबै स्थानीय तहका विद्यालयमा आजदेखि पठनपाठन बन्द गरिएको हो ।