चक्कु प्रहारबाट २ जनाको हत्या
बुटवल । कपिलवस्तुमा एक युवकले बिहीबार बिहान चक्कु प्रहार गरी दुई जनाको हत्या गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ वर्षका मोहन थारुले चक्कु प्रहार गरी दुई जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको मृत्यु भएको हो ।
बिहान सवा ९ बजेको समयमा अञ्जनीको घरमा पुगेका मोहनले अञ्जनीमाथि चक्कु प्रहार गरेका थिए । रोक्न पुगेका अञ्जनीका काकालाई समेत मोहनले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै स्थानीय स्वास्थ्य संस्थामा र अञ्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीले चक्कस प्रहार गर्ने मोहनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार, मोहन र अञ्जनीबीच विगतमा प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
