सन् २०२३–२०३२ लाई पर्यटन दशकका रुपमा मनाउने सरकारको घोषणा

तु खबर संवाददाता
२०८० जेष्ठ १५, सोमबार १८:१०
file photo

काठमाडौं । सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

उनले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने बताए । अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने समेत बजेटमा उल्लेख छ ।

सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्याइने जनाएको छ । त्यस्तै, मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने जनाएको छ ।

सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने जनाएको छ ।