बाँझो जग्गाको सदुपयोग गर्न करार खेती कार्यक्रमलाई निरन्तरता दिने

तु खबर संवाददाता
२०८० जेष्ठ १४,आईतवार १८:१४

मकवानपुर । बागमती प्रदेश सरकारले बाँझो जग्गाको सदुपयोग गर्न वैज्ञानिक नीति तयार गरी करार खेती कार्यक्रमलाई निरन्तरता दिने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि आईतबार सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

प्रदेश प्रमुख शर्माले प्रदेशमा खेती भइरहेका रैथाने जातको बालिको पहिचान, प्रयोग, संरक्षण र प्रवर्धन गर्दै उत्पादन, उपभोग तथा बजारीकरण गरिने बताए ।

उनले फलफूलको व्यावसायिक उत्पादनको लागि आधुनिक नर्सरी स्थापना गरी सम्भाव्य क्षेत्रहरुमा समुदायमा आधारित फलफूल विकास कार्यक्रम संचालन गर्ने बताए । साथै उनले ‘परिचय पत्र अभियान, किसानको पहिचान’ लाई सार्थक बनाउन प्रदेशमा रहेका किसानहरुलाई व्यवसायिकताको आधारमा वर्गीकृत परिचय पत्र वितरण कार्य सुरुवात गर्ने बताए ।