शिवम् सिमेन्टको खानीमा सुख्खा पहिरो, स्काभेटर पुरियो, गाउँ पुरिने त्रास
मकवानपुर । शिवम् सिमेन्टको खानीमा सुख्खा पहिरो गएको छ । शिवम् सिमेन्टको लागि चुन ढुंगा उत्खनन् गर्दै आएको गढी गाउँपालिकामा रहेको तीन वटा खानीमध्ये दुई खानीमा सुख्खा पहिरो गएपछि उत्खनन् बन्द भएको छ ।
गत साता शिवम्को सुकौरा र बुढिचौरमा रहेको मझुवा खानीमा सुख्खा पहिरो गएको हो । घटनामा एउटा स्काभेटर पुरिएको छ । चालक ज्यान जोगाएर भाग्न सफल भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
हाल सुख्खा पहिरो गएका क्षेत्रमा मानिस नै जान नसक्ने गरी भासिएको छ । हेटौडा बजारदेखि उत्तर पूर्वी क्षेत्रमा बकैया गाउँपालिकाको ठिङ्गनको पहाडसँग जोडिएको उक्त खानीमा पहिलो जाँदा तल्ला तटीय बस्तीमा बाढीले घर परिवार पुरिने त्रास बढेको छ ।
शिवम् सिमेन्टले अबैध रुपमा अत्याधिक मात्रामा उत्खनन् गरेर विशाल पहाडको स्वरुप नै बिगारेको भन्दै आमभन्ज्याङका स्थानीयबासी केही समयदेखि आन्दोलित हुँदै आएका थिए । स्थानीय बासीहरुले पटक पटक उक्त खानी बन्द गर्न माग गर्दै आएपनि जिल्लास्थित डिभिजन वन कार्यालयले उल्टै थप क्षेत्रबाट चुनढुंगा उत्खनन गर्न अनुमति दिँदै आएका छन् ।
शिवम्को खानीमा गएको पहिरोले यस वर्षको वर्षायाममा आमभन्ज्याङको कुर्ले, बागदली, धादिङ, भालुखोला, सिम्ले क्षेत्रका स्थानीबासी पहिरो आउने त्रासमा छन् । सामरी नदिको माथिल्लो क्षेत्रमा अत्याधिक मात्रामा पहिरो जाँदा बगेको ढुंगा माटो बगाएर ल्याउँदा उक्त नदि आसपासका क्षेत्रका बासिन्दाको जीवन नै जोखिममा पर्ने देखिएको छ ।
सो सम्बन्धमा प्रतिनिधि सभाको दुई साता अघिको बैठकमा सांसद महेश कुमार बर्तौलाले सामरी नदि नियन्त्रण गर्न माग गरेका थिए ।
यता, बागमती प्रदेश सभाका सांसदहरुले शिवम् सिमेन्टले गरेको प्राकृतिक विनास र खानीका कारण स्थानीयबासीको जीवन जोखिममा परेको सम्बन्धमा बागमती प्रदेश सभामा हालसम्म कसैले पनि कुरा उठाएका छैनन् । सो क्षेत्रबाट बागमति प्रदेशमा प्रेम बहादुर पुलामी छिन्तु निर्वाचित भएका थिए ।
उता, गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले शिवम् सिमेन्टको खानीमा सुख्खा पहिरो गएको पुष्टि गरेका छन् । उनले शिवम् सिमेन्टलाई उक्त पहिरो र खानी उत्खनन् गरी फ्याकिएको कच्चा पदार्थ सामरी नदिमा आउन नदिन ठाउँ ठाउँमा ड्याम बाँध्न आग्रह गर्दा पनि अटेर गर्दै आएको बताए ।
राजनीतिक दलका नेताहरुलाई मासिक चन्दा दिँदै आएको शिवम् सिमेन्टका सम्बन्धमा स्थानीयदेखि केन्द्रीयतहका नेतासम्म मौन रहने गर्दछन् ।
