हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु

तु खबर संवाददाता
२०८० जेष्ठ १३,शनिबार १३:४१

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९, रजैयास्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान ११ः२५ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्वरको मिनि ट्रकले ठक्कर दिँदा विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्वरको बसमा सवार एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेको र उनको हाल सनाखत नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहदुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उक्त ट्रकले ठक्कर दिँदा झ्यालबाट हात बाहिर निकालेर बसेका बसका सवार ती पुरुषको दाहिने हातको पाताभन्दा मुनिको भाग चुडिएको थियो । हात चुडिएर गम्भीर घाइते भएका उनलाई हातसहित उपचारको लागि सोही बसमा हेटौंडा अस्पताल ल्याइएको थियो ।

उनको १२ः१३ मिनेटको समयमा हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीले उक्त ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।