सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु

तु खबर संवाददाता
२०८० जेष्ठ ११,बिहीबार १७:०४

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । देशको प्युठान, जुम्ला, भक्तपुर, बारा र ताप्लेजुङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्युठानको गौमुखी गाउँपालिका–५ खुङ छहरेखोला भन्ने स्थानमा लु.४ त १२२५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने २२ वर्षीय सुमन हमालको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ गोरुचौर नाग्मा मुगु सडकमा भे.१ ख २९१३ नम्बरको बबाट लडेर बसमा सवार गोरखा धार्के गाउँपालिका घर भएका ३० वर्षीय छन्जविर गुरुङको बुधबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, भक्तपुरको सूर्यबिनायक नगरपालिका–९ भाते ढिकुर नजिकै सडकमा ना.१ ख ९८४५ नम्बरको मिक्सर गाडी र बा.९१ प १६९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक झापा घर भई हाल भक्तपुर नलिन्चोक बस्ने २३ वर्षीय रुपेश राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै नर्भिक अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मिक्सर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, बाराको कलैया उपमहानगरपालिका–६, पर्सा टोलस्थित सडकमा बा.८५ प ७६०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–२३ बस्ने ६४ वर्षीय देउकी साहको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै थप उपचारको लागि काठमाडौँ ट्रमा सेन्टर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको एलएस न्यूरो अस्पताल गण्डकमा उपचार भइरहेको छ ।

त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका–६ भोटे गुम्बास्थित सडकमा भोटे गुम्वाबाट पराजुली चोकतर्फ आउँदै गरेको मे.१ च ७३५३ नम्बरको स्कारपिओ गाडी आफै अनियन्त्रित बिहीबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने सागर गुरुङको छोरा ५ वर्षीय अंशुमन गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । सबै दुर्घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।