दुर्घटनामा परेर खतिवडाको मृत्यु, बानियाँ घाइते

तु खबर संवाददाता
२०८० जेष्ठ ९,मंगलवार ०९:१३
सांकेतिक तस्वीर

पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

बिहान पोखरा महानगरपालिका–६, खहरेचोकस्थित हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडा रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएको उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परेर मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँको टाउको र घाँटीमा चोट लागि गम्भीर घाइते भएका छन् ।

बानियाँको वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको जनाएको छ । प्रहरीले दुर्घटनामा परेको मोटरसाइकललाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।