दुर्घटनामा परेर तामाङको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–१२, टिकौलीमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २० वर्षीय सागर तामाङ रहेका छन् ।
दिउँसो पौने १२ बजेको समयमा टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख ६६७४ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका तामाङको आज दिउँसो साढे १२ बजे जिल्ला अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक तामाङ स्कुटर चालक हुन् ।
यस्तै, सोही दुर्घटनामा परेर स्कुटरको पछाडी सवार भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय दिशान्त ढकाल घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
ट्रकसहित चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
