चलचित्र पत्रकार संघ मकवानपुरको स्थापना दिवसः ३ जना पुरस्कृत

तु खबर संवाददाता
२०८० जेष्ठ ६, शनिबार १५:३०

मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले २४ औँ स्थापना दिवसको अवसरमा संघको प्रवद्र्धनको लागि विभिन्न समयमा योगदान पुर्याएका तथा चलचित्र क्षेत्रमा क्रियाशील तीन जनालाई पुरस्कृत गरेको छ ।

आज हेटौंडामा आयोजित कार्यक्रममा चलचित्र पत्रकारितामा क्रियाशील पत्रकार राजन घिमिरेलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको छ । घिमिरेलाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।

यस्तै संघले यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार–२०८० चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी कुमारलाई प्रदान गरेको छ । अधिकारीलाई नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा यस वर्ष चलचित्र कलाकर्मी सम्मान–२०८० कलाकार सुलेमान शंकर इकुलाई प्रदान गरिएको छ । उनलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

चलचित्र पत्रकार संघका अध्यक्ष कपिल खड्काको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी, हेटौडा २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, हेटौडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, नेपाल पत्रकार महासंघ एशोसियट अध्यक्ष बैकुण्ठ पराजुली, कलाकार तथा निर्माता सुशान्त कुमार श्रेष्ठ, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुरका अध्यक्ष मणिराज गौतम, प्रेस चौतारीका नेता प्रकाश दाहाल, उज्ज्वल चौलागाईं, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष शिव चौलागाईँ, प्रेस युनियन मकवानपुरका सचिव बलराम पुडासैनीलगायतले मन्तव्य राखेका थिए ।