सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते

तु खबर संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार ०८:४९
सांकेतिक तस्वीर

दाङ । दाङको देउखुरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ की २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।