दुर्घटनामा परेर हेटौंडाकी प्रजा घाइते
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपलस्थित बिहीबार दिउँसो ट्रकले ठक्कर दिँदा एक जना घाइते भएकी छिन् ।
घाइते हुनेमा हेटौंडा–१५, सहितपुर बस्ने ५६ वर्षीया सन्तमाया प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहीबार दिउँसो साढे १ बजेको समयमा हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको ना.६ ख. ३७७६ नम्वरको ट्रकले बाटो क्रस गर्ने क्रममा प्रजालाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट प्रजाको दाहिने हात भाचिएको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रहरीले ट्रक र ट्रक चालक मनहरी गाउँपालिका वडा नम्वर ५ बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
